Header Ads

२०७९ असाेज अन्तिम हप्ताकाे मुख्य खबरहरू

२०७९ असाेज अन्तिम हप्ताकाे मुख्य खबरहरू



१. अमेरिकी डलरको मूल्य नयाँ उचाइमा



अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । असोज २८ गते शुक्रबार १ अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ ।

२. बाढीबाट दाङका दशवटै पालिकामा क्षति, राजपुरमा सबैभन्दा धेरै




अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ ।

३. मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने तयारी




मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

४. गुप्तचरबाट दलहरुको सुराकी गराउने निर्वाचन आयोगको तयारी




मुलुकको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई लागि रहने आरोप हो, ‘प्रतिपक्षी दलका नेताको सुराकी गर्न प्रयोग भयो ।’ उसो त राअविलाई विगतमा कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप पनि लाग्ने गर्छ ।

घोषितरुपमा भने राअवि नेताहरुको सुराकीका लागि प्रयोग भएको थिएन । तर निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा राष्ट्रिय अनुसन्धान विभागलाई दलहरुका उम्मेदवारको सुराकीका लागि प्रयोग गर्ने भएको छ ।

५. सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु



सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न बिहीबारबाट सुरु भएकाे छ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागेको हो ।

६. नवौं राष्ट्रिय खेलकुद : कसरी भयाे उदघाटन ?



नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरुभएकाे छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने शुक्रबार भएकाे हाे । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गरेका छन् ।

७. पूर्वी चितवनको जुस उद्योगमा आगलागी



पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको थियाे ।

८. एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा




राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।

कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।

९. पोखराको बेगनास तालमा ढुंगा पल्टिएर एक बेपत्ता



पोखराको बेगनास तालमा ढुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम ढुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजि कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कडेंलले जानकारी दिए । घटना साढे ४ बजेतिर घटेको हो । दुर्घटना भएको क्षेत्रमा केज बनाएर माछा पालन गरिएको छ ।

१०. एसियाली विकास बैंकबाट नेपालले साढे २६ अर्ब ऋण लिने



 नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ ।

११. पुरुष फुटबलमा आर्मीले लुम्विनी ४–१ ले हरायो



    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले सानदार लुम्बिनी प्रदेशमाथि ४–१ को जित निकालेको छ ।

१२. करिब तीन महिनापछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला खुल्यो



    लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि  त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका  सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

१३. आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो



    सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा शुक्रबार नै प्रकाशित भएको थियाे ।

१४. डा.केसीसँगको सहमती मन्त्रिपरिषद्‌द्वारा अनुमोदन



सरकारले प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डा. केसीसँग गरेको सहमती अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।


No comments

Powered by Blogger.