तीन महिनामै मनाङ एयरको अर्को हेलिकोप्टर दुर्घटना
गम्भीर घाइते पाइलटलाई थप उपचारका लागि मुम्बई लगियो
मनाङ एयरको इजाजतपत्र निलम्बन
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना बेहोरेको मनाङलाई प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको छ । विदेशी पर्यटक लिन जानेक्रममा लोबुचेमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकोप्टर रित्तै थियो । सगरमाथा आधारशिविरसम्मको पदयात्राबाट फर्किंदै गरेका विदेशी पर्यटक लोबुचेबाट पैदल फर्किन नसक्ने भएपछि काठमाडौंको एभरेस्ट एक्सपिरिअन्स् एन्ड असिस्ट कम्पनीले मनाङ एयरको हेलिकोप्टर चार्टर्ड गरेको थियो । कम्पनीका प्रबन्ध निर्देशक मुक्ति पाण्डेका अनुसार, काठमाडौंको आरुसी बुटिक होटलको अनुरोधमा कम्पनीले पर्यटकलाई लोबुचेबाट लुक्लासम्म सटल गरेर ल्याउने जिम्मा लिएको थियो ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार, उक्त कम्पनीको एयरबस बीथ्री–ई (अल्फा नोभेम्बर जुलियट) हेलिकोप्टरलाई शुक्रबार साँझ लुक्लाका लागि काठमाडौंबाट पठाइएको थियो । तर, इनरुटको मौसम खराब भएका कारण शुक्रबार राति ओखलढुंगाको रुम्जाटारमै रोकिएर शनिबार बिहान मात्रै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरण भएको उक्त विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले बताए । हेलिकोप्टरलाई लुक्लामै रहेका कम्पनीका क्याप्टेन प्रकाश सेढाईंले शनिबार बिहान लोबुचेका लागि पहिलो उडान गरेका थिए । १६ हजार ४ सय फिट उचाइमा रहेको लोबुचे लुक्लाबाट उत्तरतर्फ १० मिनेटको हवाई दूरीमा पर्छ । प्राधिकरणका अधिकारीहरूले अवतरणका क्रममा हेलिकोप्टर असन्तुलित भई दुर्घटनामा परेको अनुमान गरेका छन् ।
‘डेढ सय किलोग्राम तौल बराबरको सामानबाहेक अन्य थप लोड थिएन । मौसम पनि सफा थियो । के कारणले दुर्घटना भएको हो ? खुलेको छैन,’ मनाङका प्रबन्धक राजु न्यौपानेले भने । दुर्घटनामा हेलिकोप्टर आगलागी भई ध्वस्त भएको छ भने क्याप्टेन सेढाईंलाई शरीरका विभिन्न भागमा आगोको लप्काले डढाएको अवस्थामा उद्धार गरिएको थियो । २५ वर्षदेखि मनाङमै उडानमा रहेका क्याप्टेन सेढाईंले ७ हजार घण्टाभन्दा बढी आकाशमा बिताएका छन् ।
शनिबारको दुर्घटनासँगै छोटो तथा दुर्गम उडानका लागि सहज मानिने हेलिकोप्टर दुर्घटना यो वर्ष सर्वाधिक भएको छ । मनाङको हेलिकोप्टर दुर्घटनासँगै २०२३ मा देशभर हेलिकोप्टर दुर्घटनाको संख्या ५ पुगेको छ । यसअघि सिम्रिकको हेलिकोप्टर संखुवासभामा दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने धौलागिरि आधार शिविरमा हेली एभरेस्ट, ह्याम्स अस्पताल काठमाडौंमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका थिए । धौलागिरिमा हेलिकोप्टरमा क्षति पुगेको थियो भने पाइलट घाइते भएकी थिइन । ह्याम्समा भने हेलिकोप्टरमा मात्रै क्षति पुगेको थियो ।
नेपालमा हेलिकोप्टर उडान सुरु भएको करिब ५ दशकयता सबैभन्दा धेरै हेलिकोप्टर दुर्घटना सन् २००६ मा भएका थिए । त्यस वर्ष ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एमआई–१७ दुर्घटना हुँदा बहालवाला मन्त्रीसहित २४ जनाको निधन भएको थियो । त्यसै वर्ष श्रीसहित हेली हंस, कर्णाली एयर, एयर डाइनेस्टी र सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेका थिए । पोखरामा भएको यतिको विमान दुर्घटनालाई समेत जोड्दा यो वर्ष ६ वटा हवाई दुर्घटना भइसकेका छन् । प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनमा यत्रो हवाई दुर्घटनाको संख्या विगतका कुनै पनि वर्षमा भएको थिएन । हवाई दुर्घटनामा यो वर्ष ७९ जनाको मृत्यु भएको छ । यो मानवीय क्षति २०४९ सालमा १ सय १३ जनाको ज्यान जाने गरी नुवाकोटको घ्याङफेदीमा भएको थाई एयर र २०४९ मै १ सय ६७ जनाको ज्यान जानेगरी ललितपुरको भट्टेडाँडामा भएको पीआइएको हवाई दुर्घटनापछिको तेस्रो हो । २०७५ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशको यूएसबंगला विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।
हेलिकोप्टर दुर्घटना दर लगातार वृद्धि भएपछि वायुयान कम्पनी, नियामक निकाय तथा उड्डयनकर्मीहरूका लागि चुनौती थपिएको छ । प्राधिकरणका सहप्रवक्ता भुल विमान निर्माता कम्पनी, नियामक निकाय प्राधिकरण र उडान सुरक्षाका लागि स्ट्यार्डड अपरेसन प्रोसिडर (एसओपी) बनाउने वायुयान कम्पनीका नियम तथा कार्यविधिलाई अक्षरशः पालना गरेमात्रै पनि दुर्घटना नगन्य हुने बताउँछन् । ‘पाइलट तथा वायुसेवा कम्पनीले प्राधिकरणका लागि नियम मानिदिनुभएन,’ सहप्रवक्ता भुलले भने, ‘नेपालको उडानमा नियमको कमी छैन । पेसागत दक्षता भएका पाइलटले प्राविधिक विषयमा तदारुकता देखाउनुपर्यो र अपरेटरहरूले पैसाका पछि मात्रै दर्गनु भएन । यति गरे नेपालको हवाई सुरक्षामा धेरै सुधार हुन्छ ।’ नेपालमा १२ वटा हेलिकोप्टर कम्पनी छन् । यी कम्पनीसँग कम्तीमा एकदेखि बढीमा ८ वटासम्म हेलिकोप्टर छन् ।
क्याप्टेन सेढाईंलाई थप उपचारका लागि श्री एयरलाइन्सको सीआरजे विमानमा मेडिकल चार्टर उडानमार्फत मुम्बई लगिएको छ । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार, शरीरको आधाभन्दा बढी भाग आगलागीमा परेकाले उनको थप उपचारका लागि ह्याम्स अस्पतालले मुम्बईस्थित बर्न अस्पतालमा रिफर गरेको हो । बिहान ७ः१३ मा भएको दुर्घटनामा लगत्तै लुक्लामै रहेको फिसटेल कम्पनीको हेलिकोप्टरबाट क्याप्टेन सेढार्इंलाई उद्धार गरी पौने ९ बजे ह्याम्स अस्पतालमा ल्याइएको थियो ।
from ekantipur

Post a Comment