Header Ads

प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट छेन्दु जाँदै, शनिबार स्वदेश फर्किने



१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासाबाट छेन्दु जाँदै छन् । छेन्दुबाट उनी शनिबार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जानेछन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यसपछि ल्हासा विमानस्थलबाट छेन्दु पुग्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र आजै साँझ प्रधानमन्त्री प्रचण्डको सम्मानमा सचिव सियाओले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका थिए । उनले बिहीबार कैलाश मानसरोवर भ्रमण गरेका थिए ।

गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार छेन्दुबाट काठमाडौं फर्किने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन भ्रमणमा गएका थिए ।

असोज ६ गते चीनको हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनमा घुमघाममै व्यस्त छन् ।

भ्रमण दलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव लगायत छन् ।



from Online Khabar https://ift.tt/MDVL8Zc
via IFTTT

No comments

Powered by Blogger.